काठमाडौं । बलिउड अभिनेता सलमान खान आफ्नो नयाँ चलचित्र ‘अन्तिम’को रिलिजपछि शुक्रबार रियादमा कन्सर्ट गर्ने तयारीमा छन् ।

‘द ब्याङ्ग टूर’ नाम दिइएको यो कन्सर्टमा सलमानसँगै शिल्पा सेट्टी, ज्याकलिन फर्नान्डेज, प्रभु देवा, सुनिल ग्रोवर, कमल खान लगायतले आफ्नो प्रस्तुति दिने तयारी थियो । तर, अब यो सूचीबाट अभिनेत्री ज्याकलिन फर्नान्डेजको नाम हटाइएको छ । ज्याकलिनलाई केही दिनअघि मात्र रियाद उड्ने क्रममा मुम्बईको विमानस्थलबाट नै फर्काइएको थियो ।

अब यो टूरमा सलमानका ज्वाइँ आयुष शर्मा जोडिएका छन् । ज्याकलिन दुई सय करोडको मनी लाउण्डेरिङ मुद्दामा फसेकी छन् । त्यसकारण उनीमाथि इडीले अनुसन्धान गरिरहेको छ । सोही मुद्दाका कारण ज्याकलिनलाई भारत बाहिर जान नदिइएको हो । ज्याकलिनलाई अभिनेत्री डेजी शाहले यो टूरमा ‘रिप्लेस’ गरेको खबर समेत बाहिरिएको छ ।

यो मुद्दाका मुख्य आरोपी सुकेश चन्द्रशेखर अहिले प्रहरी हिरासतमा छन् । सुकेशसँग ज्याकलिनको प्रेम रहेको खबर पनि बाहिरिएको थियो । इडीले दिल्लीको अदालतमा ज्याकलिन र नोरा फतेहीको नाम समावेश गर्दै मुद्दा समेत दायर गरेको छ ।

सुकेशले उनलाई महंगा गिफ्ट दिएको स्वीकार गरिसकेको र यो मुद्दाको बलियो प्रमाणको रुपमा ज्याकलिनलाई लिएको प्रहरीले बताएको छ ।

यो पनि, ठगी मुद्दामा सुकेश चन्द्रशेखरसँग नाम जोडिएपछि बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजका पछिल्ला दिनहरु तनावपूर्ण छन् । हालै मात्र चन्द्रशेखरसँगको एक गोप्य तस्वीर बाहिरिएपछि उनी थप तनावमा परेकी छन् ।

तस्वीर सार्वजनिक भएकोमा ज्याकलिनले दुःख व्यक्त गर्दै उनले एक ‘स्टेटमेन्ट’ समेत जारी गरेकी छन् । ‘यो देश र यहाँका नागरिकहरुले मलाई सधैं माया दिएका छन् । जसमा सञ्चारकर्मी साथीहरु पनि हुनुहन्छ, उहाँहरुले मलाई धेरै सपोर्ट गर्नुभएको छ,’ उनले

भनेकी छन्, ‘मलाई विश्वास छ कि मेरो व्यक्तिगत कुरालाई यहाँहरुले भाइरल बनाइदिनुहुनेछैन ।’ उनले आफ्नो गोप्य तस्वीरलाई भाइरल नबनाइदिन सबैसँग आग्रह गरेकी छन् ।ज्याकलिनको केही समयअघि मात्रै दुई करोड ठगी मुद्दाका मुख्य आरोपी चन्द्रशेखरसँग नाम जोडिएको थियो ।


Your Views
Related News