एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अर्जेन्टिनी फरवार्ड लियाेनेल मेस्सीलाई सार्वजनिक गरेको छ । पीएसजीले बुधबार मेस्सीलाई सार्वजनिक गरेको हो । २ दशक बढी बार्सिलोनामा बिताएका मेस्सीले गत आइतबार क्याप नाउबाट विदा भएका थिए । मेस्सीले मंगलबार पिएसजीसँग औपचारिक रुपमा सम्झौता गरेका हुन् ।

पीएसजीमा मेस्सीले ३० नम्बर जर्सी प्रयोग गर्नेछन् । आफूले २१ वर्ष फुटबल खेलेको बार्सिलोनामा रोनाल्डिनोन्होले छोडेपछि मेसीले २००८ देखि १० नम्बर जर्सी लगाउँदै आएका थिए । यही जर्सीबाट च्याम्पियन्स लिग, लालालिगा जस्ता दुई दर्जन बढी उपाधि हासिल गरेका उनी मेसी बार्सिलोनाबाट फ्रान्सको पिएसजीमा आवद्ध हुँदा भने १० नम्बर जर्सी छोड्न तयार भएका हुन् ।

अहिलेका सुपरस्टार खेलाडी मेसीले चाहँदा उनले लगाउने १० नम्बर जर्सी लगाउन उनलाई कसैले पनि रोक्न सक्दैन थिए । तर, फुटबल मैदानमा जादुयी प्रदर्शन गर्ने मेसीले आफ्ना मिल्ने साथीको लागि महानता देखाएका छन् । जो मेसीका मिल्ने साथी नेयमार हुन् । उनीहरु कति नजिक छन् भन्ने केही समय अघि मात्रै ब्राजिललाई अर्जेन्टिनाले कोपाको फाइनलमा हराएपछि देखिएको थियो । आफ्नो देशले उपाधि गुमाए पनि समकालीन स्टार खेलाडी मेसीलाई नेयमारले निक्कै आत्मीयता देखाउँदै बधाई दिएका थिए ।

विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट नेयमार पिएसजी पुगेपछि १० नम्बर जर्सी लगाउन थालेका थिए । मेसी पिएसजी आए आफूले सम्मानसाथ मेसीलाई १० नम्बर छोड्ने नेयमारले बताएका थिए । तर, नेयमारको सम्मानका अगाडि मेसीले झनै महानता देखाए । आफ्ना मिल्ने साथी नेयमारले लगाउँदै आएको १० नम्बर जर्सी मेसीले खोस्न चाहेनन् ।

विभिन्न संचारमाध्यमले पनि मेसीले मिल्ने साथी नेयमारले लगाउँदै आएको १० नम्बरको जर्सी खोस्न नचाहेको उल्लेख गरेका छन् । पिएसजीले पनि सम्भव भएसम्म १० को सट्टा अर्को जर्सी रोज्न मेसीसँग आग्रह गरेको थियो । जसलाई हार्दिकताको साथ स्वीकार्दै मेसीले झनै परिपक्वता, शिष्टता, भद्रता देखाउँदै महानता प्रस्तुत गरेका हुन् । बरु पहिले लगाएको ३० नम्बरको जर्सी मेसीले रोजे । ३०, १९ वा १० जुन नम्बरकाे जर्सी लगाए पनि मेसीले फुटबल जगतमा तहल्का मच्याएका छन् ।

यही ३० नम्बर जर्सीमा मेसीले पिएसजीसँग दुई वर्षको सम्झौता मंगलबार राति गरेका छन् । मेसीसँग सम्झौता नगर्दैदेखि पिएसजीले एकातिर नेयमारले लगाउने १० नम्बर जर्सी र अर्कोतिर एम्बाप्पले लगाउने ७ नम्बरको जर्सीको बीचमा अर्जेन्टिनाको झण्डा राखेर मेसी आउने पक्का गर्दै लकर रूमकाे भिडियाे सार्वजनिक गरेको थियो । तर, जर्सी नम्बर ३० हुने उल्लेख गरेको थिएन । केही घण्टामै गरिएको सम्झौतामा मेसीलाई पिएसजीले ३० नम्बरमा सार्वजनिक गरेको हो । पिएससीसँग सम्झौता गरेर आफूले थप उपलब्धी हासिल गर्न चाहेको बताएका छन् । सफलता हासिल गर्नका लागि पिएसजीका सबै खेलाडी र स्टाफहरु धेरै नै मेहनती भएको पनि मेसीले सम्झौताको क्रममा बताएका छन् ।


Your Views
Related News