सिरहा । प्रदेश नम्बर २ को एक नापी कार्यालयमा कार्यालय प्रमुखले अफिसभित्रै दारु पार्टी र डिजे डान्स गरेको तस्विरहरु सार्वजनिक भएको छ ।

प्रदेश नम्बर २ को सिरहाजिल्ला लहानस्थित रहेको नापी कार्यालय लहानका कार्यालय प्रमुख सँजय सिँह सहित अन्य कर्मचारीहरुले कार्यालयभित्रै दारु पार्टी गरेको तस्विरहरु सार्वजनिक भएको छ ।

अषाढ मसान्तको अन्तिम भन्दै पार्टी (भोजभतेर) गरेको भनेर केही जनाले फेसबुकमा दारु खाँदै गरेको फोटोहरु सार्वजनिक गरेको छ । नापी कार्यालयका कार्यालय प्रमुख सँजय सिँहले शनिबार (आज) कार्यालयभित्रै मदिरा पार्टी गरेको हो ।

सरकारी कार्यालयभित्र यस्ता क्रियाकलाप गरे कारवाही हुने भएपनि कार्यालयको प्रमुख नै आफ्नो कार्यालयमै दारु पार्टी गरेको फोटोहरु सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको छ ।

जानकारी अनुसार, कार्यालय प्रमुख सिँहको विदाई कार्यक्रम समेत रहेको भन्दै कार्यालयभित्रै दारु पार्टी गरेको हो । तस्विरमा देखिए अनुसार, कार्यालयभित्रै दुई टेबललाई जोडेर ग्रीन सिग्नेचर (रक्सीको ब्राण्ड) को बोतल सहित ग्लासमा समेत मदिरा देखिएको छ ।

सोही कार्यालयमा कार्यरत कर्मचारी सरोज कुमार मण्डलले राखेको तस्विरहरुमा कार्यालयभित्रको नेमप्लेट समेत देखिएको हो । कार्यालयभित्रै दारु पार्टीको तस्विर सार्वजनिक भएको केही घण्टामै सरोज मण्डलले सो तस्विरहरु हटाएका छन् ।

सरकारी कार्यालयमा मदिरा पार्टीपछि प्रशासनले के कस्तो कारवाही गर्ने भनेर कौतुहुल्ता आम नागरिकमा जागेको छ । यता, सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले इलाका प्रशासन कार्यालय लहानलाई जानकारी गराएको र यसबारे रिपोर्ट गर्न निर्देशन दिएको बताए । न्यूज ब्यूरोबाट


Your Views
Related News