अमेरिका र बेलायतसँग रुसको तनाव बढ्दै गएपछि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी जलसेनाको खतरनाक आणविक पनडुब्बी बाल्टिक सागरमा तैनाथ गरेको छ ।

अस्कर दोस्रो क्लासको आणविक शक्तिबाट चल्ने यो क्रुज मिसाइल पनडुब्बीमा विनाशक क्षेप्यास्त्रहरू छन् । उक्त क्षेत्रमा रुसी जलसेनाको थप दुई आणविक पनडुब्बी देखिएका छन् । 

तीमध्ये एक पनडुब्बीमा १६ वटा सबमरिन लोन्च ब्यालिस्टिक मिसाइल जडान गरिएका छन् । तिनले एकैपटक ९६ वटा तारोमा आणविक आक्रमण गर्न सक्छन् । 

संसारभरि पनडुब्बीका गतिविधिहरूमा निगरानी गर्ने रक्षा विशेषज्ञ एचआई शुटनले यी पनडुब्बीहरू सेन्ट पिटर्सबर्गमा रुसी जलसेनाको वार्षिक परेडमा भाग लिनेछन् । 

सामान्यतया रुसले प्रत्येक वर्ष एउटा मात्र आणविक पनडुब्बी यस परेडमा भाग लिन पठाउने गरेको छ । तर यसपटक क्षेत्रीय तनावका कारण रुसले तीनवटा पनडुब्बी पठाएको हो । 

ओपन सोर्स इन्टेलिजेन्सका विश्लेषकहरूले बताएअनुसार, यस पनडुब्बीको नाम ओरेल (के–२६६) हो । जुलाई २६ मा सेन्ट पिटर्सबर्गमा आयोजना गरिने जलसेना परेडमा यो सहभागी हुने अपेक्षा छ । 

रुसको नेभल बेस रहेको सेन्ट पिटर्सबर्ग बाल्टिक समुद्रको किनारमा अवस्थित छ । यही बाटो भएर रुसको अधिकांश व्यापार हुने गरेको छ ।  

बाल्टिक सागरमा अमेरिकी जलसेनाले बाल्टोप्स अभ्यास गरेको सन्दर्भमा रुसले त्यहाँ खतरनाक पनडुब्बी पठाएको हो । त्यस्तै केही समयअघि क्राइमिया नजिक बेलायतको रोयल नेभीको एचएमएस डिफेन्डर पुगेपछि रुसले २० वटा विमान तथा दुईवटा कोस्टगार्ड जहाजहरू पठाएर चेतावनी दिएको थियो ।


Your Views
Related News