काठमाडौं । फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक पोष्ट डिलिट गरिदिएको छ । कोरोना भाइरसबारे ट्रम्पले गरेको पोष्टलाई फेसबुकले पहिलो पटक डिलिट गरेको हो । फेसबुक कम्पनीका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले गलत सूचना सेयर गरेकाले त्यसलाई डिलिट गरिएको हो।

ट्रम्पले स्टाटसको साथमा फक्स न्युज च्यानललाई दिएको अन्तरवार्ताको एक भिडियो क्लिप पनि राखेका थिए । त्यो भिडियोमा ट्रम्पले भनेका छन्- कोरोना भाइरसबाट बालबालिकाहरु लगभग सुरक्षित छन् ।फेसबुकका प्रवक्ताले भनेका छन्, ‘यस भिडियोमा कोरोना भाइरसबारे गलत दाबी गरिएको छ । यो हाम्रो नीतिको उल्लंघन हो । हामी कोरोना भाइरस संक्रमणको विषयमा गलत सूचना प्रवाहको विरुद्धमा छौं ।’यसबारे ह्वाइट हाउसको प्रतिक्रिया भने आइसकेको छैन ।

टिकटक खरिद गर्दै माइक्रोसफ्ट कम्पनी, ट्रम्पले गरे समर्थन
अमेरिकी कम्पनी माइक्रोसफ्टका लागि चिनियाँ एप टिकटक खरिद गर्ने मार्ग प्रसस्त भएको छ ।अमेरिकामा टिकटकको व्यवसाय खरिद गर्ने माइक्रोसफ्टको योजनाप्रति नकारात्मक रहेका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विरोध फिर्ता लिएसँगै माइक्रोसफ्टका लागि टिकटक किन्ने बाटो खुलेको हो । तथापि ट्रम्पले टिकटकको मातृ कम्पनी बाइटडान्स र माइक्रोसफ्टबीच हुने उक्त सम्झौताका क्रममा अमेरिका सरकारलाई पनि विशेष हिस्सा प्रदान गरिनुपर्ने बताएका छन् ।यसअघि गत हप्तामात्रै ट्रम्पले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । ट्रम्पको चेतावनीका बाबजुत पनि माइक्रोसफ्टले भने टिकटक खरिदको सम्झौताका विषयमा कुराकानी जारी राखेको बताएको थियो ।

माइक्रोसफ्टका सीईओ सत्या नाडेलाले आइतबार अमेरिकी राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए । सोही कुराकानी पश्चात् राष्ट्रपति ट्रम्प टिकटकमाथि प्रतिबन्ध लगाउने कदमबाट पछाडि हटेका हुन् । राष्ट्रपति ट्रम्पको सुरक्षा सम्बन्धी चासोलाई महत्व दिने कदमप्रति पूर्ण रुपमा सहयोग गर्ने माइक्रोसफ्टले जनाएको छ ।
माइक्रोसफ्टका अनुसार उसले टिकटक खरिद गरेसँगै उक्त एपको सुरक्षाका विषयमा पूरै समीक्षा गर्नेछ । माइक्रोसफ्टले एक ब्लगमा भनेको छ, ‘टिकटक खरिदको सम्झौताबाट अमेरिकालाई हुने आर्थिक लाभका विषयमा पनि अमेरिकी सरकारलाई सविस्तार बताइनेछ ।’आगामी सेप्टेम्बर सम्ममा टिकटक खरिदका विषयमा उसको मातृ कम्पनी बाइट डान्ससँग सम्झौता पूरा हुने विश्वास माइक्रोसफ्टको छ । यद्यपि टिकटक खरिदको कुराकानी अहिले प्रारम्भिक अवस्थामा रहेको हुनाले खरिद बिक्री सम्झौता भैहाल्छ भनेर शतप्रतिशत भन्न सकिने अवस्थाचाहिँ छैन ।

अमेरिकासँगै क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्डको बजारमा टिकटकको अधिकार खरिद गर्न चाहेको माइक्रोसफ्टले जनाएको छ ।टिकटकमा लगानीका लागि माइक्रोसफ्टले अन्य अमेरिकी लगानी कर्ताहरुसँग पनि आह्वान गर्ने बताइएको छ ।सबै अमेरिकी टिकटक प्रयोगकर्ताहरुका डाटा अन्य मुलुकबाट अमेरिकामा स्थानान्तरण गरिसकिएको र अब ती डाटा अमेरिकामै रहने पनि माइक्रोसफ्टले जनाएको छ ।अमेरिका बाहिर संग्रहित रहेका डाटाहरु अमेरिकाको डाटा सेन्टरमा स्थानान्तरण भएसँगै ती मुलुकमा रहेका अमेरिकी प्रयोगकर्ताका डाटाहरु हटाइने उसको भनाइ छ ।माइक्रोसफ्टले भनेको छ, ‘देशलाई मबजुत सुरक्षा प्रदान गर्नका लागि राष्ट्रपति ट्रम्पको निजी पहलको सह्राना गर्दछौँ ।’


Your Views
Related News