पोखरा : पोखरा महानगरपालिकाको शिक्षा समितिले निजी विद्यालयहरुलाई लक्ष्य गर्दै बिहीबार एउटा सूचना जारी गर्‍यो र भन्यो—अनलाइन कक्षा बन्द गर्नू। कोरोना भाइरस फैलन नदिन लागु लगिएको लकडाउनका बेला केही विद्यालयले

अनलाइन कक्षा चलाइरहेको समाचार र सूचनाका आधारमा समितिले यस्तो निर्देशन गरेको हो।अनलाइन कक्षाले समाजमा विकृत ल्याएको भन्दै त्यस्ता कार्य रोक्न उजुरी परेको महानगरपालिकाको निर्देशनात्मक सूचनामा उल्लेख छ। ‘पूर्वाधार र अनुमतिबिना कक्षा सञ्चालन गर्दा समाजमा थप विकृति निम्त्यिाइनुका साथै अनलाइनको पहुँचमा नरहेका विद्यार्थी तथा अभिभावकलाई मानसिक दबाबसमेत पर्ने गरेकाले त्यस्ता कक्षा बन्द गराउनुपर्ने भनी महानगरमा उजुरीसमेत पर्न आएको’, महानगरको सूचनामा भनिएको छ। खासमा त्यस्तो विकृति के हो त ? महानगरपालिकाको शिक्षा समितिका प्रमुख गंगाबहादुर गुरुङ भन्छन्,

महानगर भन्छः जहाजै डुबेको छैन, किन चाहियो अनलाइन कक्षा ?
‘आर्थिक विकृति मच्चिने भयो। एउटै घरमा ३ जना बच्चा छन् भने कुन बच्चाले अनलाइनमा पढ्ने ? अभिभावकले कतिवटा कम्प्युटर व्यवस्था गर्ने ? अहिले पठनपाठन नहुँदा जहाजै डुब्ने स्थिति नभएको गुरुङले बताए। ‘जहाजै डुबेको त छैन नि, त्यत्रो ५०/५० दिन स्कुलहरु विदा हुन्छ, विदाहरु छन्, स्कुल चलाउने दिन जति पनि छ’, उनले भने, ‘चलाउन खोज्नेहरुले अनुमति माग्नुपर्‍यो, के चलाउने हो ? कसरी चलाउने हो ? उहाँहरुबाट प्रस्ताव आयो भने महानगरपालिकाको शिक्षा समितिले प्रस्ताव हेरेर अनुमति दिन्छ।’

अनलाइन कक्षा चलाएर कतिपय संस्थागत विद्यालयले विद्यार्थी र अभिभावकबाट शुल्क असुल्ने काइदा रचेको आरोपसमेत लागेको छ। कुनै विद्यालयले शुल्क मागेको भन्ने प्रमाण भने छैन। क्याम्पस पढाउने एक शिक्षक राजेन्द्र पौडेल भन्छन्, ‘महानगरपालिकाले सूचनामा सहमत छु, नर्सरी र मन्टेसरीका बच्चालाई अनलाइनमा पढाउने भन्ने विकृति हो, साना नानीहरुलाई पढाउने त्यस्तो तरिका सैद्धान्तिक रुपमै गलत हो।’ अनलाइन कक्षाले विद्यार्थी—विद्यार्थीबीच डिजिटल खाडल सिर्जना गर्ने पनि उनी बताउँछन्।

संस्थागत विद्यालयहरुको संस्था प्याब्सन कास्कीका अध्यक्ष प्रेम शर्मा अनलाइन कक्षा प्रतिकूलतालाई अनुकुलतामा बदल्ने र प्रविधि प्रयोगको अभ्यास गर्ने हिसाबमा चलेको बताउँछन्। उनले कक्षा ९ सम्मका विद्यार्थीको पठनपाठनका लागि आत्तुरी नभइसकेको पनि बताए। भन्छन्, ‘एसईई तयारी गर्ने विद्यार्थीलाई ठिकै होला, अरुलाई हतार भएको छैन।’ अनुकुल विद्यार्थीबीच अभ्यासका लागि भइरहेको अनलाइन कक्षालाई सकारात्मक रुपमा पनि लिन सकिने उनको भनाइ छ। शर्माले अभिभावकको आर्थिक हैसियत अनलाइन कक्षामा बच्चालाई राख्न सक्ने नभएको तर्फ पनि विचार गर्नुपर्ने बताए


Your Views
Related News