काठमाडौं : नेकपा संसदीय दलका सचेतक शान्ता चौधरीले जनमतले बनाएको सरकार ढाल्दा जनतामा निराशा र कम्युनिष्ट पार्टी कमजोर हुने तर्क गरेकी छन्। पछिल्ला दिनमा नेकपामा विवाद उत्कर्षमा पुगेर समूह-समूहमा छलफल भइरहेको बेला बुधबार बिहान सामाजिक संजाल

फेसबुकमा उनले यस्तो तर्क पेश गरेकी हुन्। सरकारलाई विवादमा ल्याउँदा आगामी निर्वाचनमा कम्युनिष्ट पार्टीको पक्षमा जनमत कमजोर हुने अवस्था आउने उनले बताएकी छन्। नेकपा नेतृ चौधरीले जनमतले बनाएको सरकार ढाल्दा प्रतिशोध र बदला लिने खालको अस्वस्थ राजनीति बढ्ने र राजनीतिप्रति बितृष्णा बढ्ने बताएकी छन् । उनले ५ तर्क पेश गर्दै नेतृत्वलाई गम्भीर बन्न आग्रह गरेकी छन्। गृह जिल्ला दाङ पुगेकी चौधरी आज काठमाडौं फर्कदै छिन्।

उनले सरकार ढलाउने खेल जहाँबाट खेलिएको भएपनि किमार्थ स्विकार्य नहुने धारणा राखेकी छन् । उनले पदको पर्वाह नभएको बताउँदै एकताबद्ध पार्टी निर्माणमा आफ्नो तर्फबाट जस्तोसुकै बलिदान गर्न तयार रहेको स्पस्ट पारेकी छन् । उनले लेखेकी छन्, ‘कमरेड लेखराज भट्ट , टोपबहादुर रायमाझी र दिननाथ शर्माहरुको तर्क र अडानलाई सम्मान व्यक्त गर्दछु । पदको कुनै पर्वाह छैन, सरकार परिवर्तन गरौंला भनेर मत मागेको पनि हैन,

भुँईमा बस्न तयार छौं , एकताबद्ध पार्टी निर्माणमा आफ्नो तर्फबाट जस्तोसुकै बलिदान गर्न तयार छौं । सरकार ढलाउने खेल जहाँबाट खेलिएको भए पनि किमार्थ स्विकार्य हुने छैन ।’ बुधबार बेलुका ५ बजे सचिवालय बैठक बस्ने तय भएपछि प्रधानमन्त्री केपी ओली र उनी इतर पक्षका नेताहरुबीच आन्तरिक तयारी तीब्र पारिएको छ। सचिवालय बैठकमा तत्कालै स्थायी समिति बैठक बोलाउने वा नबोलाउने भन्ने विषयमा नेताहरुबीच सचिवालयमा चर्काचर्की पर्ने सम्भावना देखिएको छ।

विवाद बढ्दै जाँदा पनि समस्या समाधानतिरभन्दा नेताहरु आन्तरिक जोडघटाउतिर लागेका छन्। सचिवालय बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहको बहुमतमा देखिएको छ।


Your Views
Related News