कोरोना भाइरसको संक्रमणको जोखिम बढेसँगै नेपालमा चैत ११ गतेदेखि लकडाउन अर्थात घर बाहिर निस्कन नपाइने नियम लागू भएको छ । लकडाउनका बेला धैर्य गर्न, आतंकित नबन्न, सुरक्षित हुन तथा आफु र आफ्नो परिवारको स्वास्थ्यका लागि लकडाउनको पालना गर्न अनुरोध गरेको छ।

सरकारले विदेशबाट आएका नागरिकलाई १४ दिनसम्म घरबाट बाहिर ननिस्कन, सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।सामान्यतया कोरोना भाइरसको सङ्क्रमण १४ दिनसम्ममा देखिन सक्ने भएकाले शंकास्पद व्यक्तिलाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्न भनिएको हो । यस्तो अवस्था अरुको सम्पर्कमा नआउने, भिडभाडमा नजाने, सार्वजनिक यायायात प्रयोग नगर्ने, संक्रमणबाट जोगिन हात धुने, ज्वरो रुघाखोकीबाट बच्ने, लागेका व्यक्तिको नजिक नजाने गर्नुपर्छ । सेल्फ क्वारेण्टाइनमा बस्दा अपनाउनुपर्ने १५ वटा नियम पालना गर्नुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पर्याप्त भेन्टिलेसन वा झ्याल भएको कोठामा एक्लै बस्नुपर्ने । यो सम्भव नभए छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तीमा १ मिटर दूरीमा टाढै रहनुपर्ने । छट्टै बाथरूम र शौचालयको प्रयोग गर्नुपर्ने । यसो गर्न सम्भव नभए शौचालय र बाथरुम प्रयोग गरिसकेपछि आफैं सफा गर्नुपर्ने ।
आफू बस्ने कोठा आफैं सफा गर्नुपर्ने ।

घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा आफ्नो आवातजावतलाई सीमित गर्नुपर्ने । यी साझा ठाउँमा पर्याप्त भेन्टिलेसन वा झ्याल खुला राख्नुपर्ने । स्वास्थ्य संस्था जान बाहेक अरु कामका लागि घर बाहिर जानु नहुने । अरु काममा, विद्यालयमा वा यस्तै अरु सार्वजनिक क्षेत्रहरूमा जान नहुने र सार्वजनिक यातायातको प्रयोग गर्न नहुने ।

नियमित रूपमा आफ्नो हात साबुन र पानीले २० सेकेन्डसम्म मिची मिची धुनुपर्ने । हात सफा राख्न अल्कोहलयुक्त सेनिटाइजर प्रयोग गर्नुपर्ने । हात नधोइ आफ्ना आँखा, नाक र मुख छुन नहुने । आफुले प्रयोग गर्ने गिलास, कप, खाना खान प्रयोग हुने भाडा, तौलीया र रुमाल, ओछयान वा अन्य सामान घरका अन्य व्यक्तिहरूसंग साझा प्रयोग गर्न नुहने । यस्ता सामानहरू प्रयोग गरिसकेपछि साबुन र पानीले सफासँग धुनुपर्ने ।

अन्य व्यक्तिहरूसँग प्रत्यक्ष सम्पर्क नगर्ने ।
अन्य व्यक्तिहरूसँग सम्पर्कमा आउनु पर्दा कम्तिमा १ मिटर ३ फिटको दूरी राख्नुपर्ने । अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनुपर्ने । खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाकलाई टिस्यु, रुमाल वा कुहिनाले छोप्ने।

आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नुपर्ने र फालेपछि तुरून्तै कम्तीमा २० सेकेन्डसम्म हात साबुनपानीले मिचीमिची धुनुपर्ने । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुनपानीले सफासँग धुनुपर्ने । र घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नुृपर्ने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनको पालना गर्नुपर्ने र आवश्यक सहयोगको लागि सधैं तयार रहने ।
क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नुपर्ने । र दिइएको फाराममा रेकर्ड राख्नुपर्ने । १४ दिनसम्म आफ्नो दैनिक स्वास्थ्य स्थिति तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनुपर्ने ।

कुनैपनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नुपर्ने ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना स्वारेन्टाइन रहेको ठाउँभन्दा बाहिर यात्रा गर्न नपाइने ।


Your Views
Related News